By : Rojgari App
नेपाल–साउदी अरबबीच श्रम सम्झौता , नेपाली कामदार थप सुरक्षित
रियाद, साउदी अरब : नेपाल सरकार र साउदी अरब सरकारबीच द्विपक्षीय श्रम सम्झौता भएको छ । आइतबार राति साउदी अरबको राजधानी रियादमा आयोजित एक कार्यक्रममा नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारी तथा साउदी अरब सरकारका तर्फबाट मानव संशाधन तथा सामाजिक विकास मन्त्री अहमद बिन सुलेमान अलराजीले उक्त सम्झौतामा हस्ताक्षर गरे ।
नेपाल र साउदी अरेबियाबीच १२ मार्च १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसबेलादेखि नै नेपाली कामदार वैदेशिक रोजगारीमा जाने गरेको भएपनि आइतबार मात्रै श्रम सम्झौतामा हस्ताक्षर भएको हो । साउदी अरेबियाले घरेलु कामदारको विषयमा पनि सम्झौता गर्ने प्रयास गरेको भएपनि यसपटक नेपाल सरकार र साउदी अरब सरकारबीच जनरल अर्थात् सार्वजनिक क्षेत्रमा काम गर्ने श्रमिक भर्नासम्बन्धी सम्झौता भएको हो ।
सम्झौतामा हस्ताक्षर हुनुअघि दुबै देशका श्रम मन्त्रीहरूबीच द्विपक्षीय बैठक सम्पन्न भएको थियो । नेपाली प्रतिनिधिमण्डलाको नेतृत्व गरेका मन्त्री भण्डारीले उक्त सम्झौताले नेपाल–साउदी अरबबीचको श्रम सहकार्यलाई थप संस्थागत, पारदर्शी र सुदृढ बनाउने विश्वास व्यक्त गरे । साथै सम्झौताले नेपाली साधारण श्रमिकहरूको भर्ती प्रक्रियालाई न्यायोचित, पारदर्शी तथा लागत–प्रभावकारी बनाउने महत्वपूर्ण दस्तावेजका रूपमा कार्य गर्ने धारणा पनि राखे ।
सम्झौताबाट साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरूको हकहितको संरक्षण, रोजगारीको सुरक्षा तथा सेवा सुविधामा थप सुनिश्चितता आउने अपेक्षा पनि मन्त्री भण्डारीले गरे ।
सम्झौतामा श्रमिकहरूको सेवा सुविधा, काम गर्ने अवस्था, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, श्रम सम्झौताको प्रभावकारी कार्यान्वयन, गुनासो व्यवस्थापन तथा श्रमिक अधिकार संरक्षणलगायत विषयहरूलाई प्राथमिकताका साथ समेटिएको छ । यो संझौताबाट दुवै देशका राष्ट्रिय कानुन, अन्तर्राष्ट्रिय श्रम मापदण्ड तथा आपसी समझदारीका आधारमा श्रमिकको हित सुनिश्चित गर्ने लक्ष्य लिइएको छ।
सम्झौता हस्ताक्षर कार्यक्रममा दुवै देशका मन्त्रीसहित साउदी अरब तथा नेपाली राजदूतावासका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।